गोलभेडा

आधार : भैरब आर्यलको “आलु” निबन्ध

गोलभेडाको नामकरण कसले कसरी गर्‍यो त्यो त कुनै भाषाशास्त्रीहरुले नै जानुन तर आकारमा गोलो हुने र भेडाको बथान जस्तै एउटै बोटमा पनि लटरम्म भएर फाल्ने भएकाले यसलाई गोलभेडा भनिएको होला । मेरो विचार सर्वमान्य हो भन्ने पनि छैन्, तपाईँ आफ्नो विचार पनि तान्न सक्नु हुन्छ – पहिले पहिले मानिस लेकमा भेडा चराउन जाँदा बाटाका छेउछाउमा भेटिएको र पोलेर खाँदा मिठो हुने भएकाले पनि भेडा गोठालोले खाने गोलो फल भनियो र पछि गोलो भेडा भन्दा भन्दै अपभ्रंश भएर गोलभेडा भयो ।

गोलभेडाको नातागोता खोज्ने हो भने आलुसँग टाढाको नाता देखिन्छ । मान्छे भन्छन् गोलभेडा आलुको ठिमाहा छोरो हो रे तर बोट उस्तै भए पनि एउटाको जन्म जराबाट र अर्कोको हाँगाबाट हुने हुँदा यो तर्क खाली पहिले-पहिले गोलभेडा खान पल्केका, तालु टल्केका पुरेतबाजेहरूको गफमात्र हो । नजिकको आफन्त नभएता पनि गोलभेडाको मुख्य व्यवसाय तरकारी नै हो भने उपव्यवसाय अचार हो ।

कुनै पनि देशको जुनै पनि भेषको मान्छेले पकाउने तरकारी देखि लिएर खाजामा अचार पनि दिने सरकारी अफिसमा पनि प्रयोग हुने गोलभेडा एउटा सदाचारी तरकारी हो । आमाको काखमा हुँदा यो हरियो भए पनि पछि हुर्कदै गएपछि यसको गालामा मात्र होइन सम्पूर्ण शरीरको छालामा पनि लाली चढ्छ र पूरै रातै भएर मनिसलाई लोभ्याउछ तर मानिसले चाहिँ यसलाई तरकारीको र आचारका रूपमा सिध्याउँछ ।

गोलभेडा प्राय तरकारीमा प्रयोग गरिने भएतापनि यसको प्रयोग हुने तरिका अलग छ । तरकारीमा प्राय यसलाई काटेर हलिन्छ भने आचार बनाउदा पोलेर पहिला यसको कपडा फालिन्छ अनि नुन र खुर्सानीका साथ सिलौटामा हलिन्छ र लोहोरोले प्रहार गरिन्छ अनि अचार भइसकेपछि खानासँग यो गोलभेडा पेटमा बजारिन्छ ।

संसारको कुनै पनि सहरमा कुनै पनि प्रहरमा पाइने गोलभेडा खेतको आली देखि लिएर करेसाको बारीमा, सौचालाएको झाडी देखि लिएर सडकको नालीमा, सिमसारको खेतको घारी देखि लिएर कोदो रोप्ने बारीमा, ओरालो देखि लिएर भिरालो सम्पूर्ण जमिनमा पनि फल्ने गोलभेडा साँचै नै अचम्मको तरकारी हो ।

ममको अचार देखि लिएर मिठो तरकारीको विचारमा पनि गोलभेडाले स्थान पाउने गर्छ, त्यसैले यसलाई किन्न मानिसहरू धेरै टाढा सम्म पनि धाउने गर्छ, थोरै पैसामा पनि यो धेरै आउने गर्छ र यसलाई विभिन्न प्रकारका रूपमा खान पाउँदा मान्छे रमाउने गर्छ ।

समाजमा गोलभेडा नखाने मानिस बिरलै पाइन्छ, आफूद्वारा त जस्तो सुकै आवस्थामा पाइए पनि गोलभेडा प्रकार खाइन्छ, एकछिन नाचिन्छ, गाइन्छ, रमाइन्छ अनि मात्र शान्त भइन्छ ।

राजा देखि राष्ट्रपति, जसका घरमा छन् मति ठिक भएका श्रीमती,पकाउछन् गोलभेडा कराइमा फतफती, खानासँगै गर्दै लतपति, खान थाल्छन नगरी गलफती , देख्नु भयो त गोलभेडा कति जाति ।

पास्नी देखि लिएर बिहेको भोजमा, साथीहरूसँगको वनभोजमा, जन्मदिन देखि चौरासीमा, झुपडपट्टी देखि मोटेलमा, रेस्टुरा देखि होटेलमा, जहाँ पनि जहिले पनि यसको प्रयोग गरिन्छ । जीवनको पूर्वार्ध त गोलभेडा खइयो, उत्तरार्द्ध पनि सायद यही खाँदा खाँदै मरिन्छ ।

जति पकाए पनि भिटामिन नसकिने यस गोलभेडाको जात हामीले संरक्षण गर्नुपर्छ किनभने सबैले आफ्नो पेट भर्नु पर्छ, काममा दलिनु र घोटिनु पर्छ । गोलो गोलो गोलभेडा बारेमा लाम्चो पारेर लेख्न खोजिएको यो निबन्ध यति नै । “जय गोलभेडा देवताको, जय होस्” ।।।  

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s