भैरव अर्यालबाट प्रेरित भएर लेख्न थाले

सबै जनाले अंग्रेजीमा आ-आफ्नो ब्लग लेख्न थाले, मैले चाहिँ नेपालीमा नै लेख्छु भनेर निधो गरे । मैले हरेक हप्ता एउटा एउटा गरेर नेपालीमा आफ्नो ब्लगमा आफ्नो लेखहरु राख्न थाले । यदी तपाई मलाई सोध्नुहुन्छ मेरो कुनचाहिँ लेख मलाई नै राम्रो लाग्छ भनेर, मेरो जवाफ गोलभेडा हुनेछ । त्यो लेख मैले कक्षा १२ मा भैरव अर्यालको आलु नामक हास्य व्यंग्य ले भरेको निबन्ध पढ्दा लेखेको हो । कसरी लेख्ने जागर चल्यो त थाहा छैन मलाई पनि तर जब पहिलो अनुच्छेद लेखे तब मैले पढेर दिदिलाई सुनाए अनि दिदिले, “खुब लेख्छस तैले, यो काँ बाट चोरेर पढेको भन त भन्नु भयो ।“

तेसपछि मैले यसलाई पुरा नै गरेर छोड्छु भन्ने मनमा लाग्यो अनि फेरी आलु निबन्ध पढ्दै गोलभेडा निबन्ध लेख्न थाले । हरेक अनुच्छेद लेखेर दिदीलाई पढेर सुनाउथे अनि दिदीले मिलेन भनेको ठाउँमा सच्याउथे । जब मैले लेखेर पुरा गरे तब दिदीलाई पढेर सुनाए अनि दिदीले राम्रो छ भनेपछि भोलि कक्षामा सरलाई पनि सुनाउछु भनेर सोचे । भोलिपल्ट कक्षामा सरले पढाउन सुरु गरे पछि साथीलाई मैले लेखेको छ भन्न लगाए अनि सरले मलाई पढेर सुनाउन भन्नु भयो । म निबन्ध लेखेको कागज लिएर उठे अनि सबै कक्षाले सुन्ने गरि ठुलो सोरमा पढेर सुनाए । सरले एकदम ध्यान दिएर मेरो गोलभेडा निबन्ध सुन्नु भयो अनि मलाई, “तैले त खुबै राम्रो लेख्दो रैछ्स त केटो । मैले भनेको मन्छ्स भने यो तेरो लेख गोरखापत्रमा छपा, सारै राम्रो लेखेको रैछ्स ।” तेसपछि कहाँ गएर छाप्न दिने भन्ने नै थाहा भएन अनि कुरा तेत्तिकैमा सक्कियो तर आज पनि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो मुनामदनमा गर्व गरे जस्तै मा पनि मेरो गोलभेडा निबन्धमा गर्व गर्दछु ।